राष्ट्रिय सहकारी महासंघले साउन २२ गते अभियानकोतर्फबाट सन्दर्भ ब्याजदर निर्धारण समितिमा प्रतिनिधित्व गर्ने सहकारीकर्मी, महासंघका उपलब्ध संचालक, केन्द्रीय संघ तथा उपत्यकाका जिल्ला सहकारी संघहरुसँग सदन्र्भ ब्याजदरको विषयमा सुझाव लिएको छ । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा छलफल भएको थियो । सहकारी ऐन २०७४ को दफा ५१ ले रजिस्ट्रारले ब्याजदर निर्धारण समितिको सिफारिसका आधारमा सन्दर्भ ब्याजदर तोक्न सक्ने अधिकार प्रदान गरेको छ । सो समितिमा महासंघबाट वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल र केन्द्रीय विषयगत संघहरुबाट नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याललाई महासंघले निर्णय गरि पठाएको छ । त्यसैगरि सहकारी बैंकको प्रतिनिधिका रुपमा सिइओ सिए बद्री गुरागाईले प्रतिनिधित्व गर्नुभएको छ ।
निर्धारण समितिले ब्याजदर अध्ययन गरी सिफारिस गर्नका लागि बनाएको कार्यदलको संयोजक महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल हुनुहुन्छ । ५ सदस्यीय कार्यदलमा नेपाल राष्ट्र बैंकका केदार पोखरेल, सहकारी विभागका सुरेन्द्रराज पौडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई सदस्य हुनुहुन्छ । यो उपसमितिले वित्तीय बजार र सहकारी क्षेत्रको ब्याजदर अध्ययन गरी प्रतिवेदन तयारी गर्ने बताइएको छ । मल्लले सो छलफलमा ऐनको व्यवस्था र बजारको वित्तीय अवस्थालाई अध्ययन गरेर मात्र समितिलाई ब्याजदरको प्रतिवेदन उपलब्ध गराउने बताउनुभयो । अभियानको साझा धारणा बनाएर अगाडि बढ्ने महासंघका अध्यक्ष कँडेलले बताउनुभयो ।
गत बर्ष पहिलो पटक सहकारीमा पहिलो पटक ऋणको अधिक्तम १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । २०७६ साउन १९ गतेबाट सो लागु भएको थियो । यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहेन प्रावधान ऐनमा छ ।